१६ असार २०८३, मंगलबार

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम १ महिनाअघि नै पूरा

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम १ महिनाअघि नै पूरा

पर्वतको एक सडक आयोजना सम्झौता अवधिभन्दा १ महिनाअगावै सम्पन्न भएको छ ।

जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा १ महिनाअघि नै सकिएको हो ।

जलजला र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ । 

वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मशिनरी पर्खाल निर्माण गर्न ती २ निकायले १/१ करोड रुपैयाँ विनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले १ करोड १५ लाखमा ठेक्का पाएको सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । विभिन्न ठाउँमा ४०७ मिटर सडक ढलान र नाली निर्माण भएको इन्जिनीयर सुनल बानियाँले बताए । मशिनरी र ग्यावियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । 

वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा १ महिनाअघि नै निर्माण व्यवसायीले काम सकेका छन् ।

पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले जानकारी दिए । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघि नै सकिएको छ ।

३ किलोमिटर दूरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुंगाका भगवान जिसीले बताए । सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका वासिन्दाले प्रयोग गर्दै आएका छन् ।

मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक संघीय सरकारको सडक डिभिजन र फड्केढुंगाको दोवदोवेदेखि मल्लाजसम्म सडक शहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । संघीय सरकारको रणनीतिक महत्त्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न ३७ करोड रुपैयाँमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्