
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउद परराष्ट्र मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री साउदलाई आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका छन् । फागुन १५ गते नेकपा एमालेले सरकार छाडेपछि परराष्ट्र मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन थियो ।
००००
नवनियुक्त परराष्ट्रमन्त्री साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहाद्र्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । यसैबीच भारतीय विदेशमन्त्री डा एस जयशंकरले नेपाली समकक्षी एनपी साउदलाई बधाई तथा शुभकामना दिएका छन् ।
००००
प्रधानमन्त्री प्रचण्ड भारत जाने तयारीकै लागि अन्य मन्त्रालय नटुंगिकन हतारमा परराष्ट्रमन्त्री भने नियुक्त गरिएको बताइएको छ। प्रचण्ड वैशाखभित्र भारत जाने तयारीमा छन् ।
पदभार ग्रहण गर्दै मन्त्री साउदले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिएका छन् । ‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भने ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १९ सदस्यीय भएपनि अझै अपूर्ण छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले १० वैशाख गते ३ क्षेत्रमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपतिले स्वीकृति दिएका हुन् ।
००००
नेतृत्वसँग असन्तुष्ट रहेका एमाले नेता भीम रावलसँग एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासहित वार्ता भएको छ ।
आइतवार विहान ९ देखि ११ः३० बजेसम्म नेकपा एमालेका पार्टी नेतात्रय र रावलबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा वार्ता भएको हो । वार्ता सकारात्मक भएको बताइएको छ ।
००००
धनगढीमा आयोजना भइरहेको मानसखण्ड सम्मेलनको समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले स्वागत गरेका छन् ।
उनले समारोहलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् ।
ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले नै बताउनुले मुलुक गम्भीर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ छ ।
००००
गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ ।
तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । सरकारी वार्ता टोलीका संयोजक कोइरालाले उनीहरू आए जुनसुकै बेलामा पनि वार्ताका लागि तयारी अवस्थामा रहेको बताए ।
००००
नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् ।
००००
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् ।
००००
राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मदवार विजयी भएका छन् ।
आइतबार सम्पन्न निर्वाचनबाट क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका हुन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् ।
००००
एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोका कारण आफू अस्वस्थ भएको ओलीको भनाई छ ।
सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू अस्वस्थ भएकोले १० वैशाखमा ३ निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको अभियानमा सहभागी हुन नसक्ने बताएका छन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ मा सीमित भएको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्यकारी निर्देशक पौडेललगायत ९ जनालाई विपक्षी बनाई आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पौडेलसँग ६९ करोड बिगो दाबी गरिएको छ ।
००००
राष्ट्रियसभामा नेकपा एसकी सदस्य रहेकी नन्दा चपाईं राज्यमन्त्री बनेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरेका हुन् ।
००००
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० का लागि ८०४ भित्तेपात्रोलाई स्वीकृति दिएको छ ।
भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो ।
००००
हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ ।
डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।