
१ दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो । गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुशी थिए ।
खासगरी गरीब परिवारका विद्यार्थी पढ्दै आएको क्याम्पसमा छोरीबुहारी बढी हुन्थे । उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले १० जोड २ उत्तीर्ण गरेर पढाइ बिट मार्ने गर्थे ।
छात्रहरू विदेश जाने र छात्राले क्याम्पस टाढा भएकै कारण पढाइ छोड्नुपर्ने बाध्यता भएपछि विक्रम संवत् २०४७ सालमा क्याम्पस स्थापना भयो ।
क्याम्पस स्थापना भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीले अध्ययन गर्न पाए तर पछिल्लो समय क्याम्पसमा विद्यार्थी टिकाउनै समस्या हुँदै गएको छ । १० जोड २ उत्तीर्ण हुने बित्तिकै युवा विदेश पलायन हुन थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या न्यून हुँदै गएको हो । ३२ वर्षदेखि सञ्चालन हुँदै आएको क्याम्पसले अहिले विद्यार्थी कसरी टिकाउने भन्नेमा सोच्न बाध्य छ ।
हरेक वर्ष विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पस कसरी चलाउने भन्नेमा सरोकारवाला गम्भीर हुन थालेका छन् ।
विद्यार्थीबाट कुनै पनि शुल्क नलिई निःशुल्क पढ्ने वातावरण मिलाएको क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले बताए । अहिले दैनिक १० विद्यार्थी पढ्न नआउने उनको भनाइ छ । क्याम्पसमा हाल ४० विद्यार्थी भर्ना भएका छन् ।
शिक्षा र व्यवस्थापन पढाइ हुने क्याम्पसमा अहिले विद्यार्थीको आकर्षण घट्दै गएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसले हरेक वर्ष राम्रो शैक्षिक उपलब्धि हासिल गरिरहेको क्याम्पस प्रमुख पन्तको भनाइ छ ।
‘ग्रामीण क्षेत्रको क्याम्पस भएको हुँदा गाउँकै विद्यार्थीले हो यहाँ पढ्ने, खासगरी छोरी र बुहारी बढी हुन्छन्, अहिले विद्यार्थीको संख्या धेरै घटेको छ, विद्यार्थीलाई आकर्षण गर्न धेरै प्रयास गर्यौं तर बढाउन सकिएको छैन,’ क्याम्पस प्रमुख पन्तले भने, ‘पहिले छोरा मात्रै विदेश जाने प्रचलन थियो, त्यसले गर्दा छोरी बुहारीले घरको काम धन्दा गरेर क्याम्पस पढ्ने गर्थे, अहिले छोरी बुहारी पनि विदेश जान थाले त्यसले गर्दा क्याम्पसमा विद्यार्थी संख्या घट्यो, हरेक वर्ष विद्यार्थी संख्या घटिरहेको छ ।’
क्याम्पस ०४७ सालमा प्रवीणता प्रमाण पत्रबाट शुरू भएको थियो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर स्थापित क्याम्पस अहिले विद्यार्थी घट्दै गएपछि संकटमा परेको छ । ५ वर्ष अगाडिसम्म क्याम्पसमा विद्यार्थीको उपस्थिति राम्रो भएको उनी बताउँछन् । अहिले विभिन्न वर्षमा अध्ययन गर्ने ८ छात्र र ३२ छात्रा भर्ना भएका छन् ।
उनीहरूमध्ये अधिकांश परीक्षा दिन मात्रै आउने गरेको क्याम्पस प्रमुख पन्तको भनाइ छ ।
बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले गाउँमै रोजगार सिर्जना नगरेसम्म क्याम्पस र विद्यालयमा विद्यार्थी रोक्न नसकिने बताउँछन् । उनले क्याम्पसमा मात्रै नभएर ‘स्कूल लेवल’मा पनि विद्यार्थीको संख्या घट्दै गएको बताए । प्राध्यापक आधुनिकसँग जोडिनुपर्ने र विद्यार्थीलाई व्यवहारिक तरबले शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
उनी भन्छन्, ‘क्याम्पस हाम्रो अधिकार क्षेत्रभित्र त पर्दैन तर हाम्रो वडामा पर्ने हुँदा हामीले चासो दिनुपर्छ, विद्यार्थी यहाँ मात्रै होइन, देशभर नै कम हुँदै गएका छन्, उच्च शिक्षालयमा विद्यार्थीको संख्या कम छ, रोजगारको अवसर र प्राध्यापक आधुनिक प्रविधिसँग जोडिन सकेर गुणस्तरीय शिक्षामा जोड दियो भने केही हदसम्म विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ ।’