
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल प्रेसर साफ्टको ‘ब्रेक थु्र’ भएको छ ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा निर्माणाधीन विद्युत् गृहमा पानी खसाल्ने ठाडो सुरुङ सोमवार जोडिएको हो ।
आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले १९६ मिटर ठाडो सुरुङ जोडिएको जानकारी दिए ।
‘विद्युत् गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो,’ उनले भने, ‘सबैभन्दा कठिन मानिएको भर्टिकल प्रेसर साफ्टको पनि आज ‘ब्रेक थ्रु’ भएको छ ।’
सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको ५४१ मिटरमध्ये ३७० मिटर सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ ।
६ हजार २७० मिटर लामो सुरुङमध्ये हालसम्म ४ हजार ३३४ मिटर निर्माण सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । आयोजनाको समग्रमा भौतिक प्रगति ५५ प्रतिशत छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । विक्रम संवत् २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ ।
रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युत् गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।
घुमाउने तालदेखि ११ किलोमिटर पहुँचमार्ग र १ वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनीयरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट –ईपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।