
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ ।
गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्री वितरणमा समेत निषेध गरेको छ ।
सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै महानगरले माइकिङसमेत गरेर सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लङ्घन गरेर बिक्री वितरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ ।
सोमबार महानगरले छ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नं १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नं ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले वडा नं ७, ८ र ९, सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा वडा नं १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा वडा नं १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले वडा नं ११, १२ र १६ अनुगमन गरेको थियो ।
निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए ।