०१ साउन २०८३, शुक्रबार

दिल्लीका मुख्यमन्त्री केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा

बैशाख ५, २०८०
दिल्लीका मुख्यमन्त्री केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा
फाइल फोटो

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा शुरू भएको छ ।

शराब घोटाला मुद्दामा यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परिसकेका छन् ।

सीबीआईले घोटालाका विषयमा मुख्यमन्त्री केजरीवालसँग आइतवार ९ घण्टा बयान लिएको छ । केजरीवाललाई ५६ प्रश्न गरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शराब घोटालामा मुछिएका व्यापारीसँग मुख्यमन्त्री केजरीवालले भिडियो कल गरेको पाइएपछि उनी पनि अनुसन्धानको घेरामा परेका हुन् । यससँगै उनी पक्राउ पर्नसक्ने चर्चा पनि भारतीय सञ्चारमाध्यममा शुरू भएको छ ।

सीबीआईलाई बयान दिएपछि केजरीवालले भनेका छन्, ‘मलाई ५६ पूश्न सोधियो । मैले सबै प्रश्नको जवाफ दिएँ । जसरी पहिला पनि भनिसकेको छु, हामीसँग लुकाउनुपर्ने केही छैन । यो पूरै शराब घोटाला फर्जी र घटिया राजनीतिबाट प्रेरित छ । हामी मर्नेछौं तर इमान्दारितासँग सम्झौता गर्ने छैनौं ।’

उनी सीबीआईको बयानमा रहेकै बेला आम आदमी पार्टी (आप) ले पक्राउ पर्नसक्ने शंका गरेको थियो । त्यसैले रातिसम्म पार्टी कार्यालयमा आकस्मिक बैठक बसेको थियो तर बयानपछि उनलाई छाडियो । भारतीय कानूनअनुसार बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गर्न सजिलो भने छैन ।

कानूनअनुसार प्रधानमन्त्री, केन्द्रीय मन्त्री, लोकसभा र राज्यसभा सदस्य, मुख्यमन्त्री, विधानसभा र विधान परिषद् सदस्यलाई गिरफ्तारीबाट छुट मिलेको छ तर सिभिल मुद्दामा मात्रै । आपराधिक मुद्दामा सबैलाई पक्राउ गर्न सकिने प्रावधान छ ।

यस्ता व्यक्ति सभाका सदस्य समेत हुने भएकाले पक्राउ गर्नुअघि अध्यक्ष र सभापतिबाट अनुमति लिनुपर्ने वा जानकारी दिनुपर्ने प्रावधान समेत छ ।

दिल्लीमा सरकार नियन्त्रित शराब कारोबारको नीति बनाउँदा घोटाला भएको आरोप लगाउँदै सीबीआईले अनुसन्धान गरिरहेको छ । घोटालामा मुख्यमन्त्री केजरीवाल पनि छानबिनको दायरामा आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्