हुम्ला, १६ भदौ– चीनसँगको सीमा क्षेत्र हिल्सास्थित प्रहरी चौकीका इञ्चार्जमाथि हातपात गर्ने नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा दिनपछि धरौटीमा रिहा भएका छन् ।
ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको अभियोगमा लामालाई जिल्ला प्रहरी कार्यालयको भदौ ११ गते नियन्त्रणमा लिएको थियो ।
चीनसँगको सीमानाका हिल्सामा कर संकलनको विषयमा विवाद भएपछि उपाध्यक्ष लामाले हिल्सा प्रहरी चौकी इन्चार्ज नीलबहादुर लामालाई आफ्नो घरमा बोलाएर कुटपिट गरेका थिए ।
कैलाश मानसरोवर यात्रामा जाने तीर्थयात्रीबाट कर उठाउने विषयमा प्रहरी चौकीका इञ्चार्ज र गाउँपालिकाका उपाध्यक्ष लामाबीच विवाद भएको थियो ।
जिल्लाले कुनै निर्णय नगरी तीर्थयात्रीबाट कर नउठाउन अनुरोध गर्दा आफूलाई कुटिएको प्रहरी चौकीका इञ्चार्ज निल बहादुर लामाले बताए ।
नाम्खा गाउँपालिकाकाले कैलाश मानसरोवर जाने स्वदेशी तथा विदेश पर्यटकबाट १ हजारदेखि २ हजारसम्म कर संकलन गर्दै आएको थियो । यस्तै हेलिकोप्टर बाट ५ सय रुपैयाँका दरले कर उठाइने गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष लामालाई १० हजार रुपैयाँ धरौटीमा छाडिएको हुम्ला प्रहरीले जनाएको छ ।