
रुपन्देहीको अमवामा बुधबार गोली चलेको सूचना प्रहरीलाई पुगेको छ । घाइतेले गोली चलेको बताएको आधारमा प्रहरीले अनुसन्धान थालेको छ ।
रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका हुन् । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए । “मोबाइल खोसाखोस हुँदा केवट सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ”, अर्यालले भने, “घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ ।” प्रहरीलाई घटनाबारे ६ः३० बजे मात्र खबर भएको अर्यालले बताए ।