०१ असार २०८३, सोमबार

टेलिकमले विद्युत प्राधिकरणलाई स्मार्ट मिटरका लागि डेढ लाख ई–सिम उपलब्ध गराउने

टेलिकमले विद्युत प्राधिकरणलाई स्मार्ट मिटरका लागि डेढ लाख ई–सिम उपलब्ध गराउने

नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको छ । 

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरे ।  

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् ।  

नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युतबाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरे ।

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ ।

ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरूका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्