
भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने २ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार घटनामा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरीजन चमार घाइते रहेका छन् ।
गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । अन्य ४ घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलीब्रिज भाँचिएको हो । मृतक र घाइते पुल निर्माणका कामदार रहेको बताइएको छ ।