०३ साउन २०८३, आइतबार

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार र राष्ट्र बैंक सकारात्मक :  अध्यक्ष ढकाल

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार र राष्ट्र बैंक सकारात्मक :  अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् । 

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई शुक्रवार सम्वोधन गर्दै ढकालले आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार र राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन् । 

‘मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरु उल्लेख गरेको थिए । त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ’ ढकालले भने ।  

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेको उनले जानकारी दिए । ‘आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ । हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं’ उनले भने । 

अर्थमन्त्री र गभर्नरले समस्या समाधान गर्ने आश्वासन दिएकोले समाधानको उपाय छिट्टै आउने विश्वास रहेको बताए । 

नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेकोले कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको ढकालले बताए । सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने ढकालले प्रतिबद्धता जनाए । 

‘तपाईहरुले यहाँका सम्भावित परियोजनाहरू छनौट गर्नुहोस् । यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ । म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,’ ढकालले भने । 

अध्यक्ष ढकालले नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्