०५ साउन २०८३, मंगलबार

वामपन्थी शक्ति ध्रुवीकरणको अभियानमा जुट्न अध्यक्ष प्रचण्डको अपिल

वामपन्थी शक्ति ध्रुवीकरणको अभियानमा जुट्न अध्यक्ष प्रचण्डको अपिल

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।
 
समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा शनिवार शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरे ।
 
वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो शृंखला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक संघर्षकै परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जनाए ।
 
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
 
देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको जनाउँदै उनले नेपाली जनतालाई सामाजिक न्याय सहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध रहेको बताए ।
 
शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरूको सामुन्ने रहेको उनको भनाइ छ । प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि उनले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्