काठमाडौँ, १७ भदौ- प्रमुख दलका शीर्ष नेताहरूको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ । विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्येका त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख दलका नेताले सम्बन्धन दिन आफूहरूलाई निर्देशन दिएको खुलासा गरेका हुन्, कान्तिपुरमा खबर छ ।

‘हामीलाई प्रमुख दलका मुख्य नेताहरूले (सम्बन्धन) दिनुपर्छ भन्नुभएको हो । त्यसमा एमालेका नेताहरू पनि छन्, कांग्रेस/माओवादीका पनि छन्,’ त्रिभुवन विश्वविद्यालयका कार्यकारी परिषदका एक सदस्यले भने, ‘हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं, उहाँहरूले नै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुहोस् भन्नुभयो । तर, तीन सातापछि उहाँहरूले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।’