
चितवनमा २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गरेकोमा चितवनबासीलाई धन्यवाद दिएका छन् । निर्वाचन सकिएपछि सामाजिक संजालमा लेख्दै लामिछानेले हरेक मुस्किलसँग लड्ने साहस दिएको भन्दै चितवनबासीप्रति आभार व्यक्त गरेका हुन् ।
साथै उनले निर्वाचन सफल बनाउन खट्ने सबै पक्षलाई धन्यवाद भनेका छन् ।
‘तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार ! आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं । हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं’ रविले भनेका छन्, ‘अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं । हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन् ।’
नागरिकता प्रकरणमा रविको सांसद पद गएपछि आइतबार चितवन २ मा उपनिर्वाचन भएको हो ।
यस अघि ३५ हजार हाराहारी मतले जितेका रविले यसपटक कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसँग प्रतिस्पर्धामा गरेका हुन् ।
४ मंसिरमा भन्दा यसपटक कम मत खसेको छ । मतपेटिका संकलन गरेपछि मध्यरातबाटै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मंगलबारसम्म मतपरिणाम आइसक्ने आयोगले जनाएको छ ।