
राजधानी काठमाडौँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।