०४ असार २०८३, बिहीबार

काभ्रेका ८ स्थानीय तहमा भू–वर्गीकरण

बैशाख ११, २०८०
काभ्रेका ८ स्थानीय तहमा भू–वर्गीकरण

सरकारले भू–उपयोग नियमावली जारी गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका ८ स्थानीय तहले वर्गीकरण गरेका छन् । 

जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । 

काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतवार मालपोत तथा नापी कार्यालयलाई बुझाएको छ । ‘सबै कित्तालाई छुट्टाछुट्टै वर्गीकरण गर्दै नक्सा समेत तयार गरी बुझाएका हौं,’ गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने ।

यसअघि नमोबुद्ध नगरपालिका, पनौती, पाँचखाल, धुलिखेल र बनेपा नगर तथा चौंरीदेउराली गाउँपालिका र भुल्लु गाउँपालिकाले भू–वर्गीकरण गरिसकेका छन् । ५ तहले अझै वर्गीकरण नगरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।
    
मन्त्रिपरिषद् बैठकले हप्ताअघि मात्रै भू–उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली ०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको छ । नियमावलीले हालसम्मको अंशबण्डा, कारोबार र कित्ताकाट सम्बन्धी समस्याको सहजीकरण गर्ने जनाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ साउन ३१ गते परिपत्र गर्दै मंसिर २३ गतेसम्ममा कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने जनाउँदै ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार हालसम्म १५७ स्थानीय तहले मात्रै जग्गाको वर्गीकरण गरेको जनाइएको छ । 
    
भू–उपयोग नियमावलीअनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्