०९ साउन २०८३, शनिबार

लुम्बिनी प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री गिरी

बैशाख ११, २०८०
लुम्बिनी प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सोमवार दोस्रोपटक विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पहिलो अधिवेशनको नवौं प्रदेशसभा बैठकमा सोमवार बिहान ११ बजे विश्वासको मत लिँदैछन् ।

माओवादीसहित अन्य सत्ता सहयात्री दलले गत चैत १२ गते नेकपा एमाले नेतृत्वको गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएबमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार आफूले विश्वासको मतको सामना गर्न लागेको मुख्यमन्त्री गिरीले बताए । प्रदेश सभाको अंकगणित हेर्दा गिरीले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।

सरकार गठनका लागि निर्णायक माओवादीले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ । मुख्यमन्त्री गिरी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनेछन् ।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासका मत लिन ४४ सांसद आवश्यक पर्छन् । प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) का ३/३, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका १/१ र स्वतन्त्र १ जना सांसद छन् । 

विश्वासको मत नपाए पनि ठूलो दलको हैसियतले संविधानको धारा १६८(३) अन्तर्गत नयाँ सरकार गठनका लागि अग्रसर हुने नेकपा एमालेले दाबी गर्दै आएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो दल हो । गत पुस २७ गते एमालेका गिरी माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा लगायतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा गिरी नेतृत्वको सरकार पनि अल्पमतमा परेको हो ।

चैत १२ गते राप्रपाबाहेक अन्य सबै दल गिरी नेतृत्वको सरकारबाट बाहिरिएका थिए । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका ८ दल र १ जना स्वतन्त्र सांसद गरी ५३ सांसदले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्