दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ ।
यस वर्ष जिल्लामा २ लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५३० किलो निकासा भएको छ ।
यसपछि टिमुर ५३ हजार ५८६ किलो निकासा भएको छ । काउलो २१ हजार ८७५ किलो, रिठा १४ हजार २०० किलो, मालागेडी १३ हजार ५०० किलो निकासा भएको छ भने तेजपात ५ हजार ५०० किलो, दालचिनी ७ हजार १४५ किलो, मालागेडी ५ हजार किलो निकास भएको छ । जसमा निजी वनबाट १ लाख ९४ हजार ३३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७०० किलो गरी २ लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ ।
दाङबाट बितेको १ वर्षमा करीब साढे ४ लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो ।
वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी संकलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी संकलनको राजस्व पूर्णरूपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए ।