
बाराको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना गर्ने विषयमा सर्वदलीय बैठक सकिएको छ ।
सोमवार बिहान भएको बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लोकान्तरलाई जानकारी दिए ।
‘भर्खरै सर्वदलीय बैठक सकिएको छ । खाना खाने र प्रतिनिधि तयार गर्ने काम गरेर ११ बजेदेखि निरन्तर मतगणना गर्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘तारजाली लगाएर तयार गरिएको शिक्षा तालिम केन्द्रमा मतगणना हुँदैछ । शुरू भएपछि राति पनि निरन्तर मतगणना हुनेछ । भोलिसम्ममा परिणाम आउँछ ।’
६३ प्रतिशत मत खसेको बारामा ३४ उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । जसमा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
कडा सुरक्षाबीच मतगणना हुन लागेको छ । मंसिर ४ गतेको निर्वाचनमा जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि आइतवार उपनिर्वाचन भएको हो ।