हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ ।
खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो ।
सबै घरधुरीलाई आयआर्जनमा वृद्धि गर्न तरकारीका कीट सहयोग गरेको वडाध्यक्ष भरतजंग शाहीले बताए । उनले वडाभित्रका सबै ३६३ घरधुरीलाई ७ प्रकारका उन्नत बीउ वितरण गरिएको जानकारी दिए ।
स्थानीयलाई राजस्वको दायरामा ल्याउनका लागि वडामा वितरण गरिएका सातै प्रकारका बीउका लागि वडाले १० रुपैयाँ लिएको वडाध्यक्ष शाहीले बताए । काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ र सागका बीउ रहेका छन् ।
वडाबाट सदरमुुकाम सिमकोटमा समेत तरकारी आपूर्ति हुने गर्छ । वडाध्यक्ष शाहीले विभिन्न समयमा आफ्ना वडावासीलाई आवश्यकताअनुसार कम्मल, खाद्यान्न लगायत सहयोग गर्दै आएका छन् ।