
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेसन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
प्राधिकरणले प्रमाण विना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो ।
प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । प्राधिकरणद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणको आधिकारिक निष्कर्ष विना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड स्ट्रिक’को कारणले गर्दा सो घटना भएको विवरण सार्वजनिक भएकोमा फ्लाई दुबई एयरलाइन्सको काठमाडौंस्थित कन्ट्री म्यानेजर विनोेद अब्रहम र एयरपोट म्यानेजर नरनारायण पकवानको विमानस्थल प्रवेश पास रोक्का गरिएको छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १६८ यात्रु बोकेर सोमवार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।