०८ असार २०८३, सोमबार

म्याग्दी नदीमा २ वटा मोटरेबल पुल निर्माण

बैशाख १३, २०८०
म्याग्दी नदीमा २ वटा मोटरेबल पुल निर्माण
प्रतिकात्मक तस्वीर

मंगला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा २ मोटरेबल पुल निर्माण गरिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले मंगला–२ बाबियाचौरको माटेबगर र वडा नम्बर ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मंगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । 

पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका–३ का वडाध्यक्ष याम रोकाले बताए ।

‘पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक–माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई ३ वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ,’ उनले भने, ‘घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’ 

बरंजाका वासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो । 

मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजा तथा वडा नम्बर ५ अर्मनका २ हजार ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । मंगला गाउँपालिका–५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भए पनि पुलबाट यातायातका साधन आवतजावत गरेको बताए ।

‘म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ,’ उनले भने, ‘स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।’

भरियामार्फत झोलुङ्गे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित थिए ।

salt training

कमेन्ट गर्नुहोस्