
लोकसेवा आयोगसहित करिब ६० वटा सरकारी निकायको डाटा हराउनुमा सेवा प्रदायक, हार्डवेयर तथा सर्भर प्रदायकका साथै सेवाग्राहीको समेत कमजोरी देखिएको छ ।
यी तीन निकायबीच डाटा संवेदनशीलताको विषयमा उचित समन्वय र छलफल नहुँदा यस्तो देखिको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गर्ने गरी ओराकल कम्पनीले सरकारी सेवाग्राहीको डाटा राख्ने गरेको थियो । तर सर्भरमा समस्या आउँदा (लक हुँदा) डाटा नै हराएको समाचार आएपछि तीनवटै निकाय आफ्नो कमजोरी अरूमा पन्छाउन लागेका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले लोकसेवालगायतका निकायहरूको डाटा हराउनुमा ओराकलको सर्भरमा समस्या देखिनु नै प्रमुख कारण रहेको बताए । उनले आफूहरूले सेवाग्राहीको आग्रहमा डाटाको संवेदनशीलताअनुसार ब्याकअप गर्ने गरेको तर आयोगले डाटा संवेदनशीलताको विषय आफूहरूलाई बुझाउन नसक्दा यस्तो समस्या आएको उल्लेख गरेको खबर गोरखापत्रले छापेको छ।