
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रवार बिहान साढे ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
दाङ ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता चौधरीलाई ८ राजनीतिक दल र १ स्वतन्त्र गरी ५३ सांसदको समर्थन छ । संविधानको धारा १६८ को (२) अनुसार बिहीवार चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशमा कांग्रेसको यो पहिलो सरकार हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले शुक्रवारै मुख्यमन्त्रीले सानो मन्त्रिमण्डल बनाउने जानकारी दिए । ‘केही दलका नेताहरूलाई समावेश गरी शुक्रवारै ३ देखि ४ सदस्यीय मन्त्रिमण्डल बनाउने योजनामा मुख्यमन्त्री हुनुहुन्छ,’ तिमिल्सिनाले लोकान्तरसँग भने, ‘शपथलगत्तै दाङ गएर पदभार ग्रहण र क्याबिनेट पनि बस्छ ।’