३० असार २०८३, मंगलबार
युक्रेन युद्ध

सी–जेलेन्स्की फोन वार्ता : युक्रेन संकट समाधानको दिशामा जाने संकेत !

बैशाख १५, २०८०
सी–जेलेन्स्की फोन वार्ता : युक्रेन संकट समाधानको दिशामा जाने संकेत !

चीनका राष्ट्रपति सी चिनपिङले युक्रेनी समकक्षी भोलोदीमीर जेलेन्स्कीको अनुरोध आएपछि उनीसँग बुधवार फोनमा कुराकानी गरेका छन् । यस कुराकानीपछि युक्रेन संकट समाधानको दिशामा बढ्ने आशा पलाउन थालेको छ । 

एक वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध टुंग्याउनका लागि यसअघि पनि तटस्थ शक्तिहरूले विभिन्न प्रयास गर्दै आएका थिए । गत वर्षकै मार्च/अप्रिलमा इजरायल र टर्कीले रुस र युक्रेनबीच वार्ता गराएका थिए तर अमेरिका र बेलायतले त्यसलाई भाँडिदिए । 

हुन त मध्यमस्तरीय मुलुकहरू भन्दा पनि चीन जस्तो महाशक्ति राष्ट्रको पहल बढी प्रभावशाली हुन्छ । अझ त्यसमाथि रुसमा चीनको जति प्रभाव अरू कसैको छैन । अनि चीनले के पनि बुझेको छ भने युक्रेनलाई मोहरा बनाएर रुससँग छद्मयुद्ध गरिरहेको अमेरिकामा पनि अब यो युद्ध अन्त्य गर्नुपर्ने सोच आउन थालेको छ । 

पश्चिमका मूलधारे सञ्चारमाध्यममा प्रकाशित सामग्री हेर्दा अमेरिकाको नयाँ सोचको आभास मिल्छ । रुसलाई क्राइमियासम्म पुग्ने स्थलमार्ग अवरुद्ध गर्ने उद्देश्यका साथ युक्रेनले छिट्टै गर्ने भनिएको प्रत्याक्रमण कारवाहीको हल्ला लामो समयदेखि चलिरहेको भए पनि त्यसमा उसले सफलता पाउने विषयमा अमेरिका नै विश्वस्त नरहेको ती सामग्रीहरू पढ्दा थाहा हुन्छ । 

पोलिटिको पत्रिकाले चार दिनअघि प्रकाशन गरेको सामग्री ‘बाइडन्स टीम फियर्स दी आफ्टरमाथ अफ ए फेल्ड युक्रेनियन काउन्टरअफेन्सिभ’ मा उल्लेख भएअनुसार, युक्रेनले प्रत्याक्रमण्मार्फत कुनै उपलब्धि हासिल गर्न नसक्ला भनी बाइडन प्रशासन चिन्तित छ । अझ अमेरिकाका युरोपेली साझेदारहरू किएभको विजय अवश्यम्भावी छ भन्ने कुरा प्रमाणित हुने सुनिश्चितता नभएकाले रुस र युक्रेनबीचको शान्तिवार्ता आकर्षक विकल्प रहेको मान्यता राख्छन् । 

अनि द न्युयोर्क टाइम्सले अप्रिल २४ मा प्रकाशित गरेको सामग्री ‘युक्रेन्स स्प्रिङ अफेन्सिभ कम्स विथ इम्मेन्स स्टेक्स फर फ्युचर अफ द वार’ मा उल्लेख भएअनुसार, युक्रेनको आक्रमणले समेत नाटकीय रूपमा उसको पक्षमा युद्धलाई मोड्ने सम्भावना नरहेको अमेरिकी अधिकारीहरूले विश्वास गरेका छन् । 

बाखमुतमा अनावश्यक रूपमा आफ्ना सैनिकहरूको बलिदान दिएकाले युक्रेनी सेना निकै कमजोर बनेको न्युयोर्क टाइम्सको सामग्रीले स्वीकार गरेको छ । अनुभवी सैनिकहरू मरेको वा गम्भीर घाइते भएको अनि गोलीगट्ठा पनि सकिएको स्थितिमा रुसविरुद्ध युक्रेनले सार्थक प्रत्याक्रमण गर्ने सम्भावना अत्यन्तै न्यून छ । 

अमेरिकाको प्रभावशाली थिंकट्यांक काउन्सिल अन फरेन रिलेशन्सका अध्यक्ष रिचार्ड हासले युक्रेन युद्ध महंगो भइरहेको, आफूहरूको गोलीगट्ठा सकिँदै गएको र संसारका अन्य स्थानमा उठ्न सक्ने द्वन्द्वका लागि आफूहरूले तयारी गर्नुपरेकाले लडाइँ रोक्नका लागि सम्झौता गराउने प्रश्न अवश्य उठ्ने बताए । संसारका अन्य स्थानमा हुन सक्ने द्वन्द्व भनी उनले चीनलाई इंगित गर्न खोजेको सहजै बुझिन्छ । 

त्यसैले युक्रेनलाई रुससँग वार्ताका लागि प्रेरित गर्न अमेरिकाले प्रयास गरेको देखिन्छ । पोलिटिको पत्रिकाको सामग्रीमा लेखिएअनुसार, वाशिङटनले किएभलाई दबाब नदिएको भए पनि रुससँग कस्तो किसिमको वार्ता गर्ने भनी तयारी थालिसकेको छ । 

अमेरिकाको प्रभावशाली थिंकट्यांक काउन्सिल अन फरेन रिलेशन्सका अध्यक्ष रिचार्ड हासले युक्रेन युद्ध महंगो भइरहेको, आफूहरूको गोलीगट्ठा सकिँदै गएको र संसारका अन्य स्थानमा उठ्न सक्ने द्वन्द्वका लागि आफूहरूले तयारी गर्नुपरेकाले लडाइँ रोक्नका लागि सम्झौता गराउने प्रश्न अवश्य उठ्ने बताए । संसारका अन्य स्थानमा हुन सक्ने द्वन्द्व भनी उनले चीनलाई इंगित गर्न खोजेको सहजै बुझिन्छ । 

अमेरिकाले युक्रेनलाई रुससँग वार्ता गर्न नदिनुको एक मात्र बाँकी विकल्प भनेको अमेरिकी सैनिकहरूलाई युक्रेनमा उतार्नु हो । बाइडन प्रशासनले त्यो विकल्पलाई अघि बढाउन शायद चाहँदैन किनकि त्यसले युद्ध चर्काएर आणविक/विश्व युद्धको संघारमा ल्याइपुर्‍याउँछ । राष्ट्रपति निर्वाचन आउन लागेको बेलामा अनि पुनः निर्वाचनमा लड्ने भनी बाइडनले घोषणा गरिसकेको अवस्थामा लडाइँ चर्काउँदा चुनावमा घाटा लाग्ने आकलन बाइडनका सहयोगीहरूले गरेको हुनुपर्छ । 

त्यसैले युद्ध रोक्नका लागि हुने पहललाई अमेरिकाले मौन स्वीकृति दिन खोजिरहेको देखिन्छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चीनका राष्ट्रपतिसँग कुरा गर्नुअघि अमेरिकाको स्वीकृति लिएको कुरा स्वतःसिद्ध छ । यसको अर्थ हुन्छ– अमेरिकाले अब यो युद्ध धान्न सकिँदैन भन्ने निष्कर्ष निकाल्दै चीनको मध्यस्थतामा वार्ता भए होस् भन्ने सोच बनाउन थालेको हुन सक्छ । 

चीनले युद्ध अन्त्यका लागि पहल गर्ने आकांक्षा दुई महिनाअघि नै व्यक्त गरिसकेको थियो । फेब्रुअरी महिनामा नै उसले शान्ति सम्झौताका लागि १२ बुँदे खाका प्रस्तुत गरेको थियो । 

अहिले सीले जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनमा विशेषदूत पठाउने आश्वासन दिएका छन् । युद्धको राजनीतिक समाधान खोज्नका लागि सरोकारवाला सबैसँग उक्त विशेषदूतले कुराकानी गर्नेछन् । 

युरेसियाली मामिलामा चीन सरकारका विशेषदूत ली हुईले युक्रेन र अन्य सरोकारवाला मुलुकसँग वार्ता गर्नेछन् । चीनका वरिष्ठ कूटनीतिकर्मी लीले यसअघि रुस र कजाकस्तास्थित चिनियाँ दूतावासमा विभिन्न ओहदामा रही काम गरिसकेका छन् । उनले चीनको परराष्ट्र मन्त्रालयमा पनि काम गरिसकेका छन् । 

इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनर्बहाली गराई विनाशकारी यमन युद्ध अन्त्यका लागि बाटो खुलाएको चीनले युक्रेन युद्ध टुंग्याउनका लागि इमान्दार पहल गरिरहेको देखिन्छ । यसरी एक तटस्थ शान्ति मध्यस्थकर्ताका रूपमा आफूलाई उभ्याउन चीनले प्रयास गरिरहेको छ । 

चीन मध्यस्थकर्ताको भूमिकाका लागि योग्य पनि छ । रुसलाई शाब्दिक तथा आर्थिक सहयोग गरी आफूहरूबीचको सम्बन्धमा कुनै सीमा नरहेको भने पनि चीनले रुसलाई घातक हातहतियार उपलब्ध गराएको छैन । युद्ध चर्किने कुनै पनि काम उसले गरेको छैन ।

त्यस्तै युक्रेनलाई चीनले कहिले पनि निन्दा गरेको छैन । पश्चिमी सैन्य गठबन्धन नेटोको विस्तारवादी नीतिका कारण यो युद्ध भएको भन्ने चीनले युक्रेनको सार्वभौम राष्ट्रको अधिकारलाई सम्मान गर्ने बताउँदै आएको छ । 

सी र जेलेन्स्कीको फोनवार्तापछि बेइजिङले प्रकाशित गरेको रीडआउटमा उल्लेख गरिएअनुसार, आफूले युक्रेनलाई मानवीय सहायताहरू पनि निरन्तर उपलब्ध गराउँदै आएको चीनले स्मरण गरेको छ । 

अमेरिका र उसका पश्चिमी साझेदारहरूले यो युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने हैसियत चीनसँग नरहेको भन्दै आए पनि युद्धको टुंगो नलाग्दा पश्चिमलाई घाटा लागिरहेकाले चीनको भूमिकालाई बेमनले भए पनि स्वीकार गर्न खोजेको देखिन्छ । 

त्यसैले सी र जेलेन्स्कीबीच फोनवार्ता हुनु सकारात्मक कुरा भएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार निर्देशक जोन कर्बीले बताएका छन् । चीनले युक्रेनको पनि दृष्टिकोण बुझ्नु जरूरी रहेको सोच अमेरिकाले राखेकोमा यस फोनकलमार्फत त्यसमा सहायता पुगेको हुन सक्ने उनको भनाइ छ । 

चीनका अनुभवी कूटनीतिकर्मी ली हुईले युक्रेन युद्ध अन्त्यका लागि वार्ता त गर्नेछन् तर यसको मिलनविन्दु खोज्न उनका लागि कठिन हुनेछ । युक्रेनबाट खोसेको भूभाग आफ्नो सार्वभौम क्षेत्र बनिसकेको भनी रुसले अड्डी कसिरहेको छ भने त्यो भूभाग आफ्नो नियन्त्रणमा नआउन्जेल लडाइँ गरिरहने युक्रेनको भनाइ छ । अन्ततोगत्वा युक्रेन तथा समग्र पश्चिमले पूर्वी युक्रेनका भूभागमा रुसको अधीनतालाई स्वीकार गर्ने स्थिति आउने देखिन्छ ।  

परिणाम जेसुकै आओस् तर चीनले वार्ताका लागि पहल गर्दा मात्र पनि आफ्नो सफ्ट पावर हैसियत बढ्ने कुरा बुझेको छ । अमेरिकाले युक्रेनलाई हातहतियार दिएर युद्ध चर्काइरहेको अनि आफूले चाहिँ युद्ध अन्त्यका लागि कूटनीतिक पहल थालेको भन्ने सन्देश समग्र विश्वलाई दिन चीन सफल भएको छ । यसबाट चीनको छवि विश्व व्यवस्थामा सकारात्मक हस्तक्षेप गर्ने एक जिम्मेवार राष्ट्रका रूपमा स्थापित भएको छ ।  

वार्ताको यस पहलमार्फत युरोपसँग चीनको सम्बन्ध सुधार गरी अमेरिकाको प्रभुत्वमा धक्का दिन सहायता पुग्ने पनि चीनको आकलन देखिन्छ । हुन पनि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले रुस–युक्रेन शान्तिवार्ताका लागि चीनले गर्ने पहललाई आफूले समर्थन गर्ने भनी बताएको कुरालाई चीनले गम्भीरतापूर्वक लिएको देखिन्छ । 

वार्ताको यस पहलमार्फत युरोपसँग चीनको सम्बन्ध सुधार गरी अमेरिकाको प्रभुत्वमा धक्का दिन सहायता पुग्ने पनि चीनको आकलन देखिन्छ । हुन पनि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले रुस–युक्रेन शान्तिवार्ताका लागि चीनले गर्ने पहललाई आफूले समर्थन गर्ने भनी बताएको कुरालाई चीनले गम्भीरतापूर्वक लिएको देखिन्छ । 

अनि माथि पनि उल्लेख गरिएअनुसार, युक्रेनले रुसविरुद्धको कथित प्रत्याक्रमणमा सफलता पाउँदैन भनी स्वयं अमेरिकीहरू नै निराश बनेको बेलामा शान्तिवार्ता अघि बढाउनु सही हुन्छ भन्ने निष्कर्षमा चीन पुगेको देखिन्छ । पेन्टागनबाट लीक भएका दस्तावेजले पनि युक्रेन निकै कमजोर अवस्थामा रहेको र प्रत्याक्रमणको सफलता अनिश्चित रहेको कुरालाई चित्रण गरेका छन् । 

रुसको स्थिति अहिले बलियो रहेको अवस्थामा शान्तिवार्ताको पहल थाल्दा रुससँग चीनको सीमारहित मित्रता अक्षुण्ण राख्न सहज हुने अनुमान पनि चिनियाँहरूले गरेको हुनुपर्छ । यसरी एक पहलमार्फत विभिन्न रणनीतिक उपलब्धिहरू हासिल गर्न सकिने भएकाले सीले निकै विलम्बपछि जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका हुन् । 

हुन त चीनले थालेको शान्ति पहल सफल होला भन्ने कुनै सुनिश्चितता छैन । तर युद्धका कारण धर्मराइरहेको विश्व अर्थतन्त्रलाई राहत दिलाउनेतर्फ यो सकारात्मक पाइला चाहिँ अवश्य हो ।

salt training

कमेन्ट गर्नुहोस्