
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वाभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सकले रिफर नगर्दासमेत जहाँज चार्टड गरी विदेश लैजानु अस्वाभाविक भएको बताए ।
फरक प्रसंगमा उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताए । उनले सरकार स्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।
‘जबकी सरकार आफैँ भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रूपैयाँ छ यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा, उनीहरु कहाँ पुगिसके, कति बितिसके, राज्य स्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षडयन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरू मजबुत हुनुपर्छ । सारा नकारात्मकता त्यागेर अघि बढ्नुपर्छ’ उनले भने ।
अध्यक्ष लिङ्देनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारे । जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको उनको भनाइ थियो ।