०८ साउन २०८३, शुक्रबार

उच्च मनोबलको नेपाल कमजोर कुवेतसँग भिड्दै, फाइनल पुग्‍ने लक्ष्य

बैशाख १६, २०८०
उच्च मनोबलको नेपाल कमजोर कुवेतसँग भिड्दै, फाइनल पुग्‍ने लक्ष्य

एसिसी प्रिमियर कपअन्तर्गत नेपालले पहिलो सेमिफाइनल खेल आज कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेत पनि सोही लक्ष्यमा हुनेछ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुगेको हो ।

कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।

नेपाल कुवेतलाई पराजित गरी फाइनल प्रवेश गरे एसिया कप छनोटको एक खुड्किलो पार गर्नेछ । कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान र युएईबीचको विजेतासँग खेल्नेछ । फाइनल जिते नेपालले भारत र पाकिस्तान सम्मिलित एसिया कप खेल्न पाउँनेछ । 

नेपाल पछिल्लो समय विश्व लीग २ देखि नै शानदार लयमा छ । 

२०१२ मा एसीसी ट्रफीमा नेपाल कुवेतसँग पराजित भएको थियो । २८१ रनको लक्ष्य दिँदा पनि नेपाल ४ विकेटले पराजित हुन पुगेको थियो । यद्यपी नेपालले युएईसँग बराबरी खेल्दै उपाधि भने अन्ततः बाँड्न पुगेको थियो । 

आजै हुने अर्को सेमिफाइनलमा समूह 'बी' को विजेता यूएई र समूह 'ए' को उपविजेता ओमानबीच पनि सोही समयमा प्रतिस्पर्धा हुँदै छ । यो खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्