
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण भएको छ । घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् ।
क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट १४ लाख ३० हजार रुपैयाँ अनुदान प्राप्त भएको खेलमैदान बनाउन समुदायस्तरबाट ३४ लाख ७७ हजार सहयोग जुटेको बताए ।
'खेतबारी र घरको आगँनमा खेलअभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ”, उनले भने, 'गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर खेलमैदान निर्माण भएको छ ।' खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडी नवीन फगामीले बताए ।
घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फगामीले थप दुई लाख सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले २७ लाख सहयोग गरेका छन् । गाउँका भूतपूर्व सैनिकले तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाएका छन् ।
गाउँपालिकाले प्याराफिट, घेराबार र स्टेज बनाउन १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा एक सय घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले १०/१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन सात लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए । उनका अनुसार यसअघि २०७८/७९ मा दुई लाख असी हजार, २०७७/७८ मा तीन लाख र २०७६/०७७ मा रु एक लाख सहयोग गरिएको थियो ।
'गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन', वडाध्यक्ष पुर्जाले भने । रासस