पानी परेर तेस्रोपटक नेपाल र कुवेतको खेल रोकिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा भइरहेको सेमिफाइनलमा नेपाल र कुवेतको खेल वर्षाले गर्दा तेस्रोपटक पनि रोकिएको हो ।
यस अघि नेपालले ब्याटिङ गर्दा रोकिएपछि पहिले ४५ ओभर र पछि ४२ ओभरमा खेल झारिएको थियो ।
ओभर घटाइएको खेलमा नेपालले २८२ रनको लक्ष्य कुवेतलाई दियो ।
तर जवाफी ब्याटिङमा उत्रिएको कुवेतले ८.३ ओभरमा ३७ रन जोड्दा ६ विकेट गुमाएपछि फेरि वर्षा हुँदा खेल रोकिएको हो । कुवेतलाई धरासयी बनाउने क्रममा नेपाली फास्ट बलर करण केसी एक्लैले ५ विकेट लिएका छन् । ५ कुवेती खेलाडी दोहोरो अंकमा रन नबनाइ आउट भएका छन् ।
वर्षा रोकिए फेरि ओभर घटाएर खेल हुनेछ ।
तर भारी वर्षा भइरहेकाे छ । वर्षा राेकिए ५ बजेभित्र सुपर ओभरबाट नतिजा टुंगाे लगाउनुपर्ने हुन्छ । तर मैदान भिजेकाे कारण अब ३० मिनेटमा खेल शुरू हुन गाह्राे छ ।
खेल रोकिएर नहुने स्थितिमा समूह विजेताको रुपमा नेपाल फाइनल पुग्नेछ ।
अहिलेकै अवस्थामा डिएल मेथड हिसाब भए पनि नेपाल बलियो अवस्थामा छ ।
तर ओभर घटाइएको खेलमा निश्चित ओभर नखेली डिएल मेथडको हिसाब हुने सम्भावना कम छ । तर खेल रद्द हुँदा नेपाल सहजै फाइनलमा पुग्नेछ ।
अर्को सेमिफाइनलमा ओमानले युएईविरुद्ध २३७ रनको लक्ष्य पछ्याइरहेको छ ।