२२ जेठ २०८३, शुक्रबार

पशुमा फैलिँदै लम्पी स्किन संक्रमण

बैशाख १७, २०८०
पशुमा फैलिँदै लम्पी स्किन संक्रमण

दाङमा पशुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको छ ।

पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रमा रोगको संक्रमण बढेको जनाइएको छ । 

बङ्गलाचुली गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७  र ८ मा बढी मात्रामा रोग संक्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नम्बर ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिए । उनका अनुसार पालिकाका करीब २५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उनले बताए । जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना संकलन गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पी स्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरेनरी अधिकृत भरत देवकोटाले जानकारी दिए । उनका अनुसार यसको थप अनुसन्धानका लागि काठमाडौं नमूना पठाइएको बताए ।

राप्ती गाउँपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का विभिन्न बस्तीमा रोगले पशु थलिएका छन् । यहाँ ३५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताए । उनका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नम्बर ५ को करङ्गेकोट, थकरीकोट, वडा नम्बर ९ को घोसखोला, देवीकोट लगायत स्थानमा १ हप्ताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोला लगायत स्थानमा ५ पशु मरेका उनले जानकारी दिए ।

लम्पी स्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ । ‘पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब बिस्तारै तराईतिर सर्दै गएको छ,’ पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भने, ‘लम्पीस्किन एक प्रकारको बिफरजस्तै रोग हो । भाइरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्त्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो ।’

salt training

कमेन्ट गर्नुहोस्