
काठमाडौं महानगरपालिकाले कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘इन्टरनेसनल’ शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ ।
आइतवार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्नका बारेमा एकरुपता ल्याउन खोजेकोबारे जानकारी दिएका छन् ।
नियम ६९ मा विद्यालयको चिह्न षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।
नियम ७० को उपनियम (१) मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने उल्लेख छ । नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियमविपरीत नामाकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको शुरूदेखि नै लागू हुने गरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने जनाइएको छ ।
उपनियम (२) मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने तथा विद्यालयको नामको अन्त्यमा विद्यालय, स्कूल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने उल्लेख छ ।
उपनियम लागू हुनुअगावै नियम विपरीतका शब्दहरू जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक सत्रको शुरूदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने जनाइएको छ ।
यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्ड अनुरूप रहन मेयर शाहले आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नियमको पालना नभएको खण्डमा कानूनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं ।’