२३ असार २०८३, मंगलबार
नक्कली शरणार्थी प्रकरण

अर्घाखाँचीमा सभामुखसँगै रहेका टोपबहादुरले भने– मलाई आश्चर्य लागिराछ, अहिले काठमाडौं जाँदैछु

बैशाख २०, २०८०
अर्घाखाँचीमा सभामुखसँगै रहेका टोपबहादुरले भने– मलाई आश्चर्य लागिराछ, अहिले काठमाडौं जाँदैछु

नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीले यस सम्बन्धमा आफूलाई केही जानकारी नभएको बताएका छन् ।

अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसहित एक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रायमाझीले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् ।

'मलाई आश्चर्य लागिराछ । जहाँसम्म भुटानी शरणार्थीका नाममा गैरशरणार्थीलाई अमेरिका लैजाने भन्ने कुरा छ, त्यसमा मेरो संलग्नता छैन, समर्थन छैन र रहने पनि छैन,' पक्राउ पुर्जीबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रायमाझीले भने, 'त्यो जानकारी नै छैन, कहाँबाट पुर्जी काट्ने ?'

उनले आफ्नो छोराका नाममा भेटिएको डेढ करोडको चेकका सम्बन्धमा समेत अनविज्ञता प्रकट गरे ।

'सन्दीप रायमाझीको नाममा डेढ करोडको चेक भन्ने जुन कुरा आयो, सन्दीप रायमाझी त अरू पनि छन्, तर मेरो छोरो हो जो भनौं, त्यो चेक ४ वर्ष अगाडिको छ । त्यो चेक हामीसँग छैन । बैंकमा साटियो/साटिएन पनि थाहा छैन,' रायमाझीले भने, 'त्यो कुरा त बुझ्नुपर्‍यो नि, यत्तिकै लेखिदिँदा मान्छेलाई अप्ठ्यारो पर्छ नि !'

उनले सरकारले तलबका लागि खोलिदिएको बाहेक आफ्नो नाममा अन्य बैंक खाता समेत नरहेको दाबी गरे ।

'सरकारले एउटा बैंकमा खाता खोल्देको छ । त्यसैमा पैसा हाल्दिन्छ । त्यसबाट कार्ड रेटेर निकाल्ने हो । अरू बैंकमा खाता पनि छैन,' रायमाझीले भने ।

उनले आफू काठमाडौंतर्फ लागेको भन्दै थप कुरा बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

'यसमा मेरो संलग्नता छैन, म अहिले काठमाडौं जाँदैछु, यसबारेमा बुझेर तपाईंहरूलाई बताउँछु,' रायमाझीले भने ।

जिल्ला अदालत काठमाडौंले नेता रायमाझी र उनका छोरा सन्दीपलाई पक्राउ गर्नका लागि अनुमति दिइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्