
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताएका छन् ।
ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा उनले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकता दिइने बताएका हुन् ।
उनले भने, “तयार हुँदै गरेको आगामी आवको नीति तथा कार्यक्रममा घरेलु हस्तकला जन्य सामग्री, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई उचित सम्बोधन गरी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिवद्ध छ ।”
मन्त्री रिजालले नेपाली उत्पादनलाई प्रवर्द्धन गरी बजारीकरणका माध्यमबाट विदेशमा निर्यात गर्दै आर्थिक उपार्जन गर्न सकेमा थप रोजगारीको सिर्जना हुने बताए ।
उनले उद्यमी घरको सञ्चालनबाट उत्पादन कर्ताले लागतको वास्तविक मूल्य पाउने विश्वास व्यक्त गरे । उनले उद्यमी घरमार्फत सबै नेपाली उत्पादनको उपभोग गर्न नागरिकले सहज रुपमा पाउनेमा जोड दिए ।