
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताएका छन् । विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको भन्दै स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका हुन् ।
शुक्रबार बिहान फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले नेपालको राजनीतिक अस्थिरतामा विदेशी लगानीमा गरिएका अनुसन्धानको पनि हात रहेको टिप्पणी गरेका हुन् । विदेशी लगानीका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको र त्यो पनि राजनीतिक अस्थिरताको कारण भएको उनको भनाइ छ ।
'वि.सं. २०४६ को परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरूमात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ?,' उनको प्रश्न छ, 'विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौ।'