
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका शीर्ष नेता संलग्न रहेको समाचार आइरहेका बेला फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
बिहीवारमात्रै सिंहदरबारमा भेट गरी अध्यक्ष ओलीले यो प्रकरणमा आफ्ना सचिव टोपबहादुर रायमाझीलाई फसाउन खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
लगत्तै शुक्रवार पनि ओलीले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेका थिए । तर प्रधानमन्त्री उपत्यकाबाहिर भएपछि शनिवार प्रधानमन्त्रीसँग ओलीले फेरि भेट गरेका हुन् ।
दोषी भए अनुसन्धान अगाडि बढाउन भन्दै प्रधानमन्त्रीलाई राजनीतिक प्रतिशोध साध्नैका लागि रायमाझीलाई पक्राउ गर्न खोजे मान्य नहुने चेतावनी दिएका थिए ।
रायमाझी आफ्नो सम्पर्कमा आएको र प्रहरीसमक्ष कुरा राख्न काठमाडौं आउने ओलीले बताए पनि उनी फरार छन् । यसै बीच फेरि पनि ओलीले प्रधानमन्त्रीसँग यसै विषयमा छलफल गर्न समय मागेको बुझिएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ सूर्यकिरण शर्माले पनि सिंहदरबारमा दुई दिनमा प्रधानमन्त्री र ओलीबीच दुईपटक भेट भएको जानकारी दिए ।