
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सरकारले सक्दो प्रयत्न गर्ने बताएका छन् ।
शनिवार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका मन्त्री श्रेष्ठले आश्रमको निरन्तरता र अझ उचाइमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज÷भोलि नै गराउने पनि बताए ।

प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले आश्रमले गरेको मानवीय सेवा संचालनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए ।
आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरूले अवको २ वर्ष भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
