
प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन् ।
आज आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उनले अर्थतन्त्र थप बिग्रन नदिन राजनीतिक चरित्र सुध्रन आवश्यक रहेको बताए ।
“अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबण्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन । अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन”, सांसद चौधरीले भने, “राजनीतिक दलहरुले राष्ट्रिय अर्थतन्त्रको एजेण्डामा एउटा गम्भीररुपमा बैठकसम्म बोलाएका छैनन् । अर्थतन्त्रमा अरु धेरैकुरा बिग्रनु अघि हामी सच्चिन जरुरी छ । राजनीति सच्चिन जरुरी छ ।”
नेपालको अर्थतन्त्रमा समस्याको सूचीमै रहेको र यसलाई तथ्याङ्कले प्रमाणित गर्दै लगेको भए पनि सकारात्मक आशा गर्ने ठाउँ भने बाँकी रहेको चौधरीको भनाइ छ ।
विकास निर्माणले गति लिन नसक्दा त्यसको बहुआयामिक असर मुलुकको अर्थतन्त्रमा देखिएको उनको भनाइ छ । सङ्घीय सरकारले मात्र नभइ प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च गर्न नसक्नु गम्भीर चिन्ताको विषय रहेको उनले बताए ।
अहिले सामाजिक सुरक्षा र पेन्सन खर्चजस्ता अनिवार्य दायित्वका शीर्षकमा रकम व्यवस्थापन गर्न सरकारलाई गाह्रो परेको उल्लेख गर्दै उनले सस्तो राजनीतिक लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ताको विषय ल्याउन नहुने बताए ।