०९ साउन २०८३, शनिबार
प्रतिनिधिसभा बैठक

शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप

एमालेले भन्यो-पादरदर्शी ढङ्गले छानबिन होस्
बैशाख २४, २०८०
शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप

प्रतिनिधिसभाको आइतबारदेखि सुरु भएको वर्षे अधिवेशनको सुरुमै सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप चलेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर भएको ठगी काण्डमा कतिपय जिम्मेवार नेता नै मुछिएपछि यसबारे संसदमा चर्को बहस भएको हो । 

बहसका क्रममा एमालेका सांसदहरुले सत्ता पक्षलाई जोगाउने र प्रतिपक्षलाई धरपकड गर्ने खेलमा सरकार लागेको आरोप लगाए । एमालेका सांसदहरुले शरणार्थी प्रकरणमात्रै नभएर वाइबडी काण्ड बाँसबारी घोटाला काण्ड, मातातीर्थ काण्ड, यति ओम्नी काण्ड, लडाकू शिविरमा भएका घोटाला काण्ड, बजेटमा बिचौलिया घुसाइएको काण्डलगायतबारे एक एक छानबिन हुनुपर्ने माग गरे । 

बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखे । 
 
एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे । ‘सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ’, उनले आरोप लगाए ।
 
यस्तै सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।  यस्तै सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही हुनुपर्ने भएपनि निर्दोषलाई फसाउने काम नगर्न सरकारलाई चेतावनी दिए । 
 
एमालेका सांसदहरुपनि बोलेका सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे । 

 सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए । उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने धारणा राखे । 
 
यस्तै सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । 

यसैगरी सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे । उनले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छानबिन हुनुपर्नेमा समेत जोड दिए । 

सांसद सुनील शर्माले भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन् । 

यसैगरी सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टिकाटिप्पणी भइरहेको बताइन् । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने भन्दै त्यसका निम्ति आफूहरु तयार रहेको बताइन् । 
 
 सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए । यसैगरी सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे । 
 
सांसद दीपकबहादुर सिंह सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए । 

संसदमा गर्जिए सुवाल
नेमकिपाका सांसद प्रेम सुवालले पनि नेपालीलाई भुटानी शरणार्थी बनाएर एक अर्बभन्दा बढी ठगी गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।  सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदल गठन भएको खबर सञ्चारमाध्यममा आएको बताए । 

सोहीअनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दाबी गरी एक अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् भन्दै उनले प्रश्न गरे । उनले यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

‘समाचारहरुमा एक पूर्वमन्त्री फरार अर्का तानिए, पक्राउ पर्ने थाहा पाएरै रायमाझीले अर्घाखाँची जाँदा पीएसओ काठमाडौँमा छाडेका थिए, पार्टी सचिव नै ठगीमा मुछिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली, रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड, ओलीको दवावमा रायमाझीलाई सरकारले पक्राउ गर्न सकेन, बालकृष्ण खाँणपनि तानिए..आदिआदि समाचार प्रकाशित भइरहेको छ’, सुवासले भने । 

यसअघि पनि वाइबढीमा देउवा पनि र आरजुलाई शैक्षिक माफियाको जेठी दिदी भनेर समाचार आएको भन्दै सुवालले माओवादी अध्यक्ष प्रचण्डको पनि विदेशी बैंकमा अर्बौ रुपैयाँ रहेको दाबीसहित समाचार आएकाले यी सबै विषयमा छानबिन हुनुपर्ने माग गरे । 

सुवासले यस्तो माग गर्दा कतिपय सांसदहरुले टेबल ठोकेर समर्थन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्