स्विडनले सन् २०२५ सम्ममा संसारको पहिलो विद्युतीय सडक बनाउने भएको छ ।
स्थायी रूपमा विद्युतीकरण गरिएको सडकमा विद्युतीय गाडी गुड्दागुड्दै आफैं चार्ज हुन्छ ।
स्विडनले कुल तीन हजार किलोमिटर सडकमा स्थायी विद्युतीकरण गर्न लागेको हो । विद्युतीय वाहनलाई सहज वातावरण दिलाउनका लागि यो योजना ल्याइएको हो ।
ई२० नामक राजमार्गमा यो परियोजना लागू गरिनेछ । त्यो राजमार्ग देशका प्रमुख शहर स्टकहोम, गोथेनबर्ग र माल्मोको बीचमा पर्छ ।
देशभरिका सडकलाई विद्युतीकरण गर्न खोजिएकोमा यो पहिलो चरण हो ।
यो सफल भएमा एउटा चार्जिङ सेन्टरबाट निकै टाढा अर्को चार्जिङ स्टेशन भए पनि गाडी बीचमा रोकिँदैन ।
स्विडनले सडक सञ्जाललाई सन् २०१६ देखि नै विद्युतीकरण गर्दै आइरहेको छ ।