
पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मंगलवार दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको हो ।
मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् ।
आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उनकी बुहारी लक्ष्मी साठीघरे घाइते भएका छन् । घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ ।
घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । चारैतिर जङ्गल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्दै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए । जङ्गलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस