१७ असार २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरणमा गगन थापाले भने – नेता होस् कि नाता कोही नछुटोस्

बैशाख २७, २०८०
नक्कली शरणार्थी प्रकरणमा गगन थापाले भने – नेता होस् कि नाता कोही नछुटोस्

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा कारवाही हुनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारवाहीको दायरामा आउनुपर्ने बताए ।

बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, “अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उनले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताए । 

सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताए ।

“कतिपय नीतिहरु सही भएका छैनन्, केही ठीक काम पनि भएका छन्, ठीक काम गरेकोमा गौरव गरौँ, त्यसको स्वामित्व लिऊ, गलत केही भएका छन् भने त्यसलाई स्वीकर गरौँ र सच्याऔँ”, उनले भने ।

सबैबाट कहीँ न कहीँ कामजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उनले आगामी वर्षको बजेटबाट जनतामा विश्वास कायम गर्न सुझाव दिए । 

“सरकारले सुशासन ल्याउँदै छ भन्ने स्थापित गर्न सक्यौँ भने राजनीतिक पुँजी बढ्छ । राजनीतिक पुँजी बढ्यो भने अर्को वर्ष दह्रोसँग कदम चाल्न सकिन्छ र संरचनात्मक समस्या हल गर्ने बाटोमा जान सकिन्छ”, उनले भने। 

बजेटमा व्यवस्था भएका विषय कार्यान्वयन नहुँदा बजेटले लिएको उद्देश्य पूरा हुन नसकेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्