
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई मंगलवार पक्राउ गरिएपछि भ्रष्टाचारनिरोधी निकाय एनएबीले १४ दिनसम्म हिरासतमा राख्न अदालतसमक्ष माग गरेको छ ।
इस्लामाबादस्थित उच्च सुरक्षा सहितको प्रहरी केन्द्र (पुलिस लाइन्स) मा बनाइएको विशेष अदालतमा खानलाई पेश गरिएको छ । अल–कादिर ट्रस्टको भ्रष्टाचार मुद्दामा खानलाई पक्राउ गरिएको हो ।
अदालतले यस मुद्दामा आफ्नो आदेश सुरक्षित राखेको पाकिस्तानको आज न्युजले खबर दिएको छ ।
पुलिस लाइन्स हेडक्वार्टर्सको परिसरमा रहेको गेस्टहाउसमा खानविरुद्धको दुईवटा मुद्दामा सुनुवाइ चलिरहेको छ ।
अल कादिर ट्रस्ट भ्रष्टाचारका कारण राज्यलाई ५० अर्ब रुपैयाँ घाटा लागेको बताइएको छ ।
बुधवार उनलाई न्यायाधीश मुहम्मद बशिरको इजलासमा पेश गरिएको थियो । तिनै न्यायाधीशले पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ गरेका थिए ।