
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्ने बताएका छन् ।
आज (बुधवार) सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूले यो विषयमा जानकारी गएको उनले बताए ।
‘दोषी जो सुकै होस् नछाड्ने भन्ने आड पाएको छु र मैले प्रहरीलाई त्यसैअनुरूप प्रहरीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री श्रेष्ठले भने ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन कायम नहुँदासम्म देश समृद्ध हुन नसक्ने भएकाले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउनेलाई कारबाही गर्ने उनले बताए ।
‘अनुसन्धानले माग गर्ने हदसम्म, अनुसन्धानको घेरामा परेका व्यक्तिहरू तानिनु भएको छ र यसलाई हामी निष्कर्षमा पुर्याउँछौँ’ गृहमन्त्री श्रेष्ठले भने ।
केही दिन अगाडि अध्यक्ष ओलीसँग निवासमा भेट भएको र त्यहाँ पनि नक्कली भुटानी शरणार्थीको विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
‘आक्रमण भएको विषयमा दुःख प्रकट गर्न भेटेको थिएँ । उहाँ र मेरो भेटमा देशको स्वाभिमान गिराउने, राष्ट्रघाती र त्यस कारणले यस विरुद्ध अनुसन्धान प्रकृया अगाडि बढाउनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ भन्ने सहमति भएको थियो,’ गृहमन्त्री श्रेष्ठले भने ।