२९ असार २०८३, सोमबार

शीर्ष नेताहरूबीच प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने सहमति भयो : प्रधानमन्त्री प्रचण्ड

बैशाख २७, २०८०
शीर्ष नेताहरूबीच प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने सहमति भयो : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने ३ दलका शीर्ष नेताहरूबीच सहमति भएको बताएका छन् ।

बुधवार सिंहदरबारमा भएको प्रमुख ३ दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरूबीच सहमति भएको बताए ।

उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धतिअनुसार काम गरिरहेको बताए ।

उनले भने, ‘हामीहरूको भेट बढी चाहिँ सदनलाई कसरी सुचारु रूपले लैजाने, त्यहाँ समितिहरू बनाउने, संयुक्त समितिहरू बनाउने विषयमा नै छलफल गरेको हो । तपाईंहरूलाई लागेको छ, त्यहीँ एउटै केसमा होला भनेर त्यो चाहिँ होइन । आशंका गर्नुपर्ने केही कारण छैन । हामीले बिल्कुल क्लियर भाषामा भनेका छौं – दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् । प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौं प्रहरीलाई । प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि, विधानअनुसार, नियम, पद्धतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं । यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सबैको सहमति छ ।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिएकाहरूलाई प्रहरीले नछाड्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्