भारतको दक्षिणमा रहेको कर्नाटक राज्यमा बुधवार भएको विधानसभा निर्वाचनमा कांग्रेस पार्टी सबभन्दा ठूलो दल बन्न सक्ने एक्जिट पोलहरूले देखाएका छन् ।
दुईवटा एक्जिट पोलले कांग्रेसको सिधा विजयको अनुमान गरेका छन् भने एउटामा भारतीय जनता पार्टीले जित्ने आकलन गरिएको छ ।
अन्य कतिपय एक्जिट पोलले कुनै पनि दलको बहुमत नआउने अनि जनता दल सेक्युलर (जेडीएस) सरकार बनाउनका लागि निर्णायक भूमिकामा रहेको देखाएका छन् ।
कर्नाटक विधानसभामा २२४ सीट छन् र बहुमतका लागि ११३ सीट चाहिन्छ ।
इन्डिया टुडे–एक्सिस माई इन्डियाका साथै टाइम्स नाउ–ईटीजीले विधानसभामा कांग्रेसको बहुमत आउने अनुमान गरेका छन् । इन्डिया टीभी–सीएनएक्स र जी न्युज–मातृजेले कांग्रेसको ११३ भन्दा बढी सीट आउने देखाएका छन् ।
उता न्युज नेशन–सीजीएसले भाजपाको विजय हुने अनुमान गरेको छ भने सुवर्ण न्युज–जन की बातले भाजपाको ११७ भन्दा बढी सीट आउने आकलन गरेको छ ।
एक्जिट पोलहरू सधैं मिल्छन् भन्ने छैन ।
मतगणना शनिवार गरिनेछ ।
सन् २०१८ मा भएको विधानसभा निर्वाचनमा कांग्रेस र जेडीएसले गठबन्धन गरी भाजपालाई सत्ताबाहिर राखेका थिए । तर एक वर्षभन्दा केही बढी टिकेपछि दुवै दलका विधायकहरू भाजपामा प्रवेश गरे अनि सरकार ढल्यो । सन् २००४ मा उनीहरूले गरेको गठबन्धन पनि यसैगरी धराशायी भएको थियो ।
अहिले चाहिँ कांग्रेस र जेडीएसले गठबन्धनको सम्भावना नरहेको बताएका छन् ।
सन् २००६ मा एचडी कुमारास्वामी नेतृत्वको जेडीएसले भाजपासँग गठबन्धन गरेको थियो । तर एक वर्षभन्दा कम अवधिमै कर्नाटकमा राष्ट्रपति शासन लागू गरिएको थियो ।
कुमारास्वामी त्यतिखेर मुख्यमन्त्री थिए । उनले उपमुख्यमन्त्री बीएस येदियुरप्पालाई पद हस्तान्तरण गर्न नमानेपछि भाजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।