२० असार २०८३, शनिबार
एमाले बैठक

शरणार्थी प्रकरणमा ओलीको बिफ्रिङ– बुस र कोन्डालीजासँगको भेटदेखि जेठ ३० को प्रसंगसम्म

बैशाख २८, २०८०
शरणार्थी प्रकरणमा ओलीको बिफ्रिङ– बुस र कोन्डालीजासँगको भेटदेखि जेठ ३० को प्रसंगसम्म

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू परराष्ट्रमन्त्री रहेको समयमा भुटानी शरणार्थी समस्या समाधानका पहल शुरू भएको बताएका छन् । २०६३ सालमा आफू परराष्ट्रमन्त्री भएको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस र विदेशमन्त्री कोन्डालीजा राइससँग भेटेर शरणार्थीलाई तेस्रो मुलुकमा पुनःस्थापनाको पहल गरेको बताएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीवार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले शरणार्थीको पुनःस्थापनादेखि नक्कली शरणार्थी प्रकरणबारे झण्डै एक घण्टा लामो ब्रिफिङ गरेका हुन् ।

‘गिरिजाप्रसाद कोइराला नगएपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन म अमेरिका गएको थिएँ । त्यो बेलामा जर्ज डब्लु बुससँग भेट भएको थियो । हात मिलाउने क्रममा बुसले माओवादीको बारेमा के हुँदैछ भनेर सोध्नुभयो । मैले अलिकति कुरा भनें । पछि भित्र रिसेप्सनमा शरणार्थीको कुरा राख्नुभयो,’ ओलीले बैठकमा पुरानो कुरा स्मरण गरे ।

‘हामीलाई ठूलो समस्या भयो, यो तन्किँदै जाँदा भोलि थेग्न सक्दैनौं भनेपछि बुसले शरणार्थीको बारेमा विदेशमन्त्री कोन्डालीजाले बताएकी थिइन् भनेर भन्नभुयो । त्यो बेलाको कुराको भर्बेटम परराष्ट्रमा होला,’ तत्कालीन अमेरिकी विदेशमन्त्रीसँगको भेटबारे ओलीले भने, ‘कोन्डालीजा राइससँग कुरा हुँदा ६० हजार लिइदिन्छौं भनेर भन्नुभएको हो । मैले तपाईंहरूले डीभी खुलाएर त ल्याउनुहुन्छ भने १ लाख लिइदिन्छौं भन्नुस् । तपाईंहरूले पहल गरेपछि अस्ट्रेलिया र क्यानडाले पनि लिन सक्छन्, भनें ।’

जेनेभामा भएको हुम्यनराइट काउन्सिल सम्मेलनमा अमेरिकाले घोषणा गरेपछि सन् २००८ बाट तेस्रो मुलुकमा पठाउने काम शुरू भएको ओलीले बताए ।

त्यसरी शुरू गरिएको पुनःस्थापना प्रक्रियामा अहिले आएर नक्कली काम शुरू भएको उनले बताए ।

‘तेस्रो देशमा पुनःस्थापनाको कुरा उठेपछि शरणार्थीलाई अमेरिका र युरोप पठाउन पाइँदैन भनेर मोदनाथ प्रश्रितले विशेष बैठक बोलाउनु भएको थियो,’ ओलीले भने । 

अहिलेको प्रतिवेदनमा नक्कली बनाइएका बाहेक पनि केही नक्कली शरणार्थी यसअघि नै अमेरिका पुगिसकेको आशंका ओलीले गरे । ‘४ गते संसदमा शरणार्थीबारे बोल्ने कोशिश गर्छु । त्यसबेला साढे ३ सय मान्छे पठाइएको बुझिन्छ । पछि यो सिलसिला माथि थाहा नहुने, तलबाट यस्ता क्रियाकलाप गरेको पाइयो । अगाडिदेखि चालू भएको रहेछ,’ ओलीले भने । 

ओलीले आफ्नो सरकारका पालामा बनेको समितिले असली प्रतिवेदन बनाएपछि त्यही कभर राखेर नक्कली प्रतिवेदन तयार गरिएको बताए ।

‘म प्रधानमन्त्री रहेको समयमा मन्त्रीस्तरबाट समिति बन्यो । त्यो समितिको असली रिपोर्ट एउटा छ, नक्कली अर्को छ । नक्कली कागज राखेर फेरिएको छ । कभर लेटर उही राखेर नक्कली व्यवहार भएको छ । प्रहरीमा छानबिन भइरहेको छ,’ ओलीले भने । 

ओलीले शरणार्थी प्रकरणमा अरूलाई आक्षेप लगाउने काम भइरहेको बताए । ‘विभिन्न मान्छेले उत्ताउलिर फलानालाई जोगाऊ र फलानालाई तान भन्ने प्रयास भए । तर, प्रधानमन्त्रीलाई भेटेर भनेको छु, दोषी नउम्कियोस्, निर्दोष नफसोस्  । पैसा क–कसले उठाए । फलानालाई पोल्न लगाउने भन्ने चर्चा भएको सुन्दैछु । अघिल्लो वर्ष जेठ ३० गते पक्राउ परेका मान्छे किन छाडिए ? अरू धेरै क्यासेट आउनेवाला छन् । तथ्य बोल्छन्,’ ओलीले भने । 

बालकृष्ण खाँण गृहमन्त्री रहेको समयमा २०७८ जेठ ३० गते पक्राउ परेका मान्छे छाडिएको भन्दै ओलीले त्यसको छानबिन गर्नुपर्ने बताए ।

‘त्यसबेला ती मान्छे किन छाडिए ? यो केस दबाउन खोजेको कसले हो ? यसको छानबिन हुनुपर्दैन ? नेपालीलाई शरणार्थी बनाएर विदेशी बनाउन जघन्य अपराध गर्ने देशद्रोही काम हो,’ ओलीले भने ।

पूर्ववर्ती सरकारले मुद्दा मिलाउने काम गरेको आरोप ओलीले लगाए । 

salt training

कमेन्ट गर्नुहोस्