
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न उपनिर्वाचनको परिणामले वर्तमान सत्ता गठबन्धनको विकल्प एमाले भन्ने तथ्यमा प्रश्न उठेको बताएका छन् ।
बिहीवारदेखि शुरू पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले सीट संख्यामा तलमाथि नभए पनि मंसिरको तुलनामा पार्टीको मत घट्नु गम्भीर विषय भएको बताएका हुन् ।
‘गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो,’ ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
मंसिरको चुनावमा पपुलिस्ट पार्टीको उदय र दक्षिणपन्थी पार्टीको विस्तार विवेचनाको विषय भएको उल्लेख गरेका छन् ।
पपुलिस्ट पार्टीले जनताको असन्तुष्टिलाई राम्रोसँग प्रयोग गर्न सके पनि समाधान दिन नसक्ने उल्लेख गरेका छन् ।
ओलीको प्रतिवेदनमाथि शुक्रवार केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गर्नेछन् ।