०६ असार २०८३, शनिबार

रासायनिक मल खरिद गर्न सम्झौता भइसकेको छ, अभाव हुँदैन : कृषि सचिव शर्मा

बैशाख २८, २०८०
रासायनिक मल खरिद गर्न सम्झौता भइसकेको छ, अभाव हुँदैन : कृषि सचिव शर्मा

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने बताएका छन् ।

बिहीवार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव शर्माले आवश्यक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेकाले मलको अभाव नहुने बताए ।

रासायनिक मल खरिदको लागि अर्को वर्षमा दायित्व सिर्जना हुने गरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागिएको उनको भनाइ छ ।

उनले यो वर्ष अहिलेसम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको बताए । उनले अब खरिद सम्झौता हुन ५५ हजार मेट्रिक टन रहेको बताए ।

उनले हालसम्म आयात भएको रासायनिक मल २ लाख ७७ हजार ५०० मेट्रिक टन रहेको बताए । आयात हुने प्रक्रियामा १ लाख ४६ हजार मेट्रिक टन रहेको भन्दै यो सात वर्षको तुलनामा अधिकतम भएको उनले बताए ।

सचिव शर्माले मन्त्रालय जेठ १५ को बजेटमा स्रोत सुनिश्चत हुने गरी १५ अर्बको २ लाख २ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर भइसकेको जानकारी दिए । उनले मन्त्रालयले मंसिरसम्म रासायनिक मल अभाव नहुने गरी व्यवस्थापन भएको बताए ।

रासायनिक मल ल्याउनको लागि सरकारले जिटुजी सम्झौता गरिरहेको भन्दै उनले सरकारसँग अहिले रासायनिक मलको मौज्दात कृषि सामग्री कम्पनीसँग ४३ हजार ६७७ र साल्ट ट्रेनिङमा १६ हजार ५८२ मेट्रिक टन रहेको जानकारी दिए ।
विगतका वर्षहरूमा भन्दा यो वर्ष रासायनिक मलमा सहज अवस्थामा रहेकाले सरकारसँग अहिले युरिया ४० हजार ७२४ र डिएभी १९ हजार ३१० मेट्रिक टन रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्