०६ असार २०८३, शनिबार

आगो निभाउन खटिएका आमा छोराको मृत्यु

बैशाख २८, २०८०
आगो निभाउन खटिएका आमा छोराको मृत्यु

 तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्यामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ । सोही वडाकी ५५ वर्षिया दिल कुमारी भुजेल र उनकै छोरा १६ वर्षीय कुमार भुजेलको निधन भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । 

छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्याको गढी सल्लेरी सामुदायिक बनमा बुधवारदेखि नै आगो लागेको थियो । आगो गाउँमा पस्न सुरु भएपछि आमाछोरा नै आगो निभाउन खटेका थिए । 
उनीहरु हराएको जानकारी आएपछि खोजी गर्दा दुबै जनालाई एकै ठाउँमा जलेको अवस्थामा फेला पारिएको ओलीले जानकारी दिए । 

आगलागी बाट ४ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । वडा नम्बर ३ मा एक घर र ४ नम्बरमा थप तीन घर जलेर नष्ट भएको तेह्रथुम प्रहरीले जनाएको छ । 
आगो निभाउने क्रममा अन्य ४ जना घाइत भएकोमा तीन जना उपचारपछि घर फर्केको र एक जनाको धनकुटाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

गाउँमा पसेको आगलागी नियन्त्रणमा आए पनि बनमा भने जारी रहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।  


 

कमेन्ट गर्नुहोस्