
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न उच्चपदस्थलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेसँगै सरकारको कामको तारिफ हुन थालेको छ । साथसाथै भ्रष्टाचार विकासको प्रमुख बाधक भएको भन्दै नागरिकस्तरबाटै देशैभर ‘भ्रष्टाचार विरोधी अभियान’ सञ्चालन हुन थालेको छ ।
सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान देशव्यापी हुन लागेको हो । शनिबार देशका विभिन्न स्थानमा भएका प्रदर्शनमा सहभागीले भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै सुशासनको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।
माइतीघरमा भएको प्रदर्शनमा सर्वसाधारण, राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज र अभियन्ताहरुको सहभागिता रहेको थियो । साथै राजधानीकै नक्सालमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरियो । सो प्रदर्शनका क्रममा रास्वपाका सभापति रवि लामिछाने, नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईसहित ठूलो संख्यामा नागरिकस्तरबाट सहभागिता थियो ।
यस्तै राजधानीबाहिर पनि विभिन्न स्थानमा प्रदर्शन भएका थिए ।
००००
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, वारेन्ट जारी भएर पनि एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । उनी १२ दिनयता फरार रहेका हुन् । नेपालदेखि भारतसम्म उनको खोजी कार्य भइरहेपनि पक्राउ पर्न नसकेका हुन् । उनले अनुसन्धान प्रक्रियामा असहयोग गरेको भन्दै एमालेले यसअघि नै निलम्बन गरिसकेको छ ।
००००
वरिष्ठ चिकित्सक डा गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताएका छन् । काठमाडौंको नक्सालमा शनिवार आयोजित भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध वृहत् आन्दोलनमा बोल्दै डा केसीले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने बताएका हुन् ।
००००
यसैगरी रास्वपाका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई सहयोग गर्ने बताएका छन् ।
रास्वपा सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए ।
००००
नेकपा एमालेले पछिल्लो समय देश विभिन्न संकटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने बताएको छ ।
दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै देश राजनीतिक, आर्थिक, सामाजिक संकटतर्फ उन्मुख भएको भन्दै एमालेले प्रमुख दलबीच न्यूनतम समझदारीको अपिल गरेको हो ।
बैठकले १६ बुँदे अन्य प्रस्ताव पारित पनि गरेको छ । जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन, माओवादी शिविरमा भएको घोटालाको अनुसन्धानसहितको माग गरिएको छ ।
००००
जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गनुपर्ने नियमहरु बनाएको छ ।
विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गनुपर्ने बताइएको छ ।
छनौट हुने प्रतिनिधि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई कार्य गरेको हुनुपर्ने छ । प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन् । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।
पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।
००००
शनिवारदेखि सगरमाथा आरोहण शुरु भएको छ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि दक्ष कामदारले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ गरेपछि आरोहणको ढोका खुलेको हो ।
००००
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् । शनिवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीच भौगोलिक सीमालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी हुन् ।
दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन भौगोलिक सीमासम्बन्धि सबै समस्याहरू हल गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।